
१२ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्नेतर्फ आफ्नो ध्यान जाने बताएकी छन् । सानो कामका लागि पनि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार आउनुपर्ने उनको भनाइ छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) सँग मंगलबार मन्त्रालयमा भएको छलफलमा उनले समयको विलम्बलाई पनि अरू आर्थिक भ्रष्टाचार जस्तै रूपमा लिनुपर्ने बताइन् । “गरे पनि हुने, नगरे पनि हुने अवस्था राम्रो होइन, हुँदैन भने सेवाग्राही पछि फर्कन्छ नि ! समयको विलम्ब पनि अरू आर्थिक भ्रष्टाचारभन्दा कम होइन,” उनले भनिन् ।
आचारसंहिता बनाएर काम गर्ने शैलीको विकास गरिने उनको भनाइ छ । “हामीले विधि वा आचारसंहिता केही बनाएर जानुपर्छ । तर कतिपय प्राविधिक काम तीन दिनमा भ्याइन्न, त्यसको फरक तरिकाले टिओआर बनाउन सक्छौँ ।”
प्रतिक्रिया दिनुहोस