१५ साउन, कैलाली । कैलालीको कर्णाली नदीमा जीप खस्दा २ जना बेपत्ता भएका छन् । शुक्रबार कैलालीको मोहन्याल गाउँपालिका ७ बाका स्थित चिसापानी देखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जीप सडकमा ब्याक गर्ने क्रममा कर्णाली नदीमा खस्दा २ जना बेपत्ता भएका हुन् ।
डोटी आदर्श गाउँपालिका काडे साउले बस्ने चालक चन्द्र प्रकाश जोशी र सोही ठाउँका रुपी जोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
जिपमा सवार उनीहरूका तीन छोराछोरी घाइते अवस्थामा फेला परेका छन् । अन्दाजी १०–१२ वर्षीया लक्ष्मी जोशी, तीन–चार वर्षीय भुवन जोशी र चार–पाँच वर्षीया सावित्री जोशी सडकभन्दा तल झाडीमा घाइते अवस्थामा फेला परेको विष्टले बताए ।
यसमध्ये भुवन र साबित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जनाको लम्कीको लालरत्न अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागी नेपालगन्ज रेफर गरिएको उनले बताए ।
जीपमा एकै परिवारका ३ जना भाइबहिनी, आमा बुबा गरी ५ जना सवार रहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जीप ३ सय मिटर तल नदीमा खसेको र बेपत्ता र जीपको प्रहरीले खोजी कार्य गरी रहेको उनले बताए ।