
१७ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खबरदारी समेत गरे । ‘यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खबरदारी पनि गर्दछौं ।’ अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भने, ‘प्रतिवाद गर्छौ र आवश्यक प¥यो भने प्रतिरोध पनि ।’ उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दावी समेत गरे । अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकार नै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको देखाएको बताए ।
उनले माधव नेपाललगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकाबाज र बेइमान काम गरेको आरोप लगाए । ‘पार्टीप्रतिको निष्ठा, इमान सबै छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पु¥याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टी भित्रैबाट भयो ।’ अध्यक्ष ओलीले आक्रोशित हुँदै भने, ‘यही कारण तीव्र गतिका लागि विकास र सुशासनको काममा अघि बढिरहेको सरकार ढल्न पुग्यो ।’
अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दावी गरे । उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारीजस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढने पनि बताए ।