समाचार

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुनः बन्द

Hydropower

१८ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका टावरमा आइतबार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो ।

यसअघि गत असार १ गते याँग्री खोलामा आएको बाढीले आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको थियो । करिब डेढ महिनापछि गत बुधबार मात्र सञ्चालनमा आएको उक्त आयोजनाको उत्पादन आइतबार राति १० बजेदेखि पुनः बन्द भएको आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए । सिन्धु खोलामा आएको बाढीका कारण एउटा टावर बगाएको र  एउटा भाँचिएको छ ।

यसको मर्मत गर्न सहज अवस्था भए कम्तीमा १५ दिन लाग्ने उनको भनाइ छ ।  अविरल वर्षाका कारण बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको  लाइनमासमेत क्षति पुग्दा मेलम्ची क्षेत्रमा अहिले विद्युत् अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

इन्द्रावती  तेस्रो जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको र बाहुने पाटी, फट्टे, सिमखेतदेखि तालामाराङ तथा हेलम्बुको ग्याल्थुम, चनौटे, किउललगायत क्षेत्रमा  बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको  लाइनमा समस्या रहेकाले विद्युत् पुनः सञ्चालन हुन केही समय लाग्ने  हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए । बाँकी रहेको बाटोघाटो, पक्की तथा झोलुङ्गे पुलहरूसमेत बाढीले बगाउँदा मर्मतसम्भार र पुनः निर्माण झन कठिनाइपूर्ण रहेकाले समय लाग्ने उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस