समाचार

संक्रमितले भरिए झापाका अस्पताल

corona

२० साउन, झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले बताए ।

अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँचवटा आईसीयूकक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्ट्याइएकामा सबै शय्या भरिएको उनले जानकारी दिए । झापामा सबैभन्दा बढी १०० शय्या कोभिड संक्रमितको उपचारका लागि छुट्ट्याएको बिर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शय्याको आईसीयू व्यवस्था गरेकामा सबै शय्या बिरामीले भरिएका छन् । “एक सातायता कोभिडका बिरामीको चाप ह्वात्तै बढेको छ,” गिरीले भने, “बिरामीको चाप बढ्दै गयो भने अरू शय्या थप्न तयार छौँ । बिरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिँदैनौँ ।”

अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उनले ५० सिलिन्डर अक्सिजन अस्पताल आफँैले दैनिक उत्पादन गरिरहेको बताए । पछिल्लो समय बालबालिकामा कोभिडको संक्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शय्याको एनआईसीयू र १५ शय्याको पीआईसीयू बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिए ।

बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कोभिडका लागि छुट्ट्याइएको सबै आइसोलेसन वार्ड, आईसीयू र भेन्टिलेटर भरिएको छ । अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले कोभिड उपचारका लागि ५३ शय्याको आइसोलेसन, नौ शय्याको भेन्टिेलेटर र १२ शय्याको आईसीयू व्यवस्था गरिएको बताए ।

“उपलब्ध सबै शय्या, आईसीयू र भेन्टिलेटर संक्रमितले भरिइसकेका छन्,” बिर्तासिटीका प्रशासन प्रमुख बस्नेतले भने, “अब आउने नयाँ बिरामीलाई पाल टाँगेर अस्पताल परिसरमा उपचार गर्नुपर्ने अवस्था आइसकेको छ ।” एक सातायता कोभिडका संक्रमित उपचारका लागि आउने क्रम बढेर अस्पताल नै भरिएको उनले बताए । अस्पतालले संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर ओपीडी सेवा हाल बन्द गरेको जनाएको छ । यस्तै, चाप रहे प्रसूति सेवा पनि बन्द गर्ने अवस्था आउन सक्ने उनले बताए ।

एक साताअघिसम्म २४ घण्टामा १०० अक्सिजन सिलिन्डरले पुग्ने गरेकामा हाल दैनिक १०० सिलिन्डर खपत भइरहेको बस्नेतले जानकारी दिए । “एम्बुलेन्स र सिटीसफारीहरुले बिरामी ओसारेका ओसारै छन्,” उनले भने, “ओपीडी बन्द गरेर विशेषज्ञ चिकित्सकहरुलाई नै कोभिडका बिरामीको उपचारमा परिचालन गरेका छौँ ।” दमकको बेलडाँगी कोभिड अस्पताल पनि संक्रमितले भरिभराउ छ । दमक नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालमा ३० शय्या छन् । सबै शय्या भरिभराउ रहेको स्रोत व्यक्ति देवी दंगालले बताए । चिकित्सकहरुका अनुसार अचेल सिकिस्त भएपछि मात्र संक्रमितहरु अस्पताल आउन थालेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस