२० साउन, काठमाडौं । बुधबार सेयर बजार १२ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचकले ३ हजार १२३ अंकको उच्च रेकर्ड बनाएको छ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको समाचारपछि आज जलविद्युत कम्पनीको सेयर मूल्य चम्किएको छ । जसले गर्दा नेप्सेले नयाँ रेकर्ड बनाएको हो ।
बजार परिसूचक सँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५९ लाखेड ५७ लाख ९४ हजारको सेयर कारोबार भएको छ । आजे नेप्सेलाई हाइड्रोपावर उपसूचकले लिड गरेको छ । हाइड्रोपावर उपसूचक ५.८१ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी १.६८ प्रतिशत र विकास बैंक उपसूचक १.३६ प्रतिशतले बढेको छ ।
त्यस्तै बैंकिङ उपसूचक पनि ०.२ प्रतिशतले वृद्धि हुँदा उत्पादनमुलक र लगानी उपसूचक पनि बढेको छ । यता लघुवित्त उपसूचक २.११ प्रतिशतले गिरावट हुँदा व्यापार उपसुचक पनि १.४३ प्रतिशतले घटेको छ ।
यस दिन माथिल्लो तामाकोसी, कालिका पावर, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रो, युनियन लाइफ इन्स्योरेन्स, अपि पावर, घलेम्दी हाइड्रोपावरको मूल्य ठिक १० प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्त, नारायणी डेभलपमेन्ट, सान्जेन जलविद्युतको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। आँखुखोलाको मूल्य ९ प्रतिशतले बढेको छ । पाँचथर पावरको मूल्य ८ प्रतिशतले बढेको छ ।