
२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छन् ।
बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी आफूले तयारी अगाडि बढाएको बताइन् । विद्युत्को घरेलु उपयोग जसले बढी गर्छ, उसलाई विद्युत् महसुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।
“गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दै छौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ, उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेको छु मैले,” उनले भनिन् ।