समाचार

जनकपुर पुगेर निधिले भने- सभापतिमा उम्मेद्वारी दिन्छु

bimlendra nidhi

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । शुक्रबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी शुरू गरिसकेको बताए। ‘१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ,’ उनले भने ।

उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए। ‘भदौमा महाधिवेशन हुन्छ भनेर सभापति शेरबहादुर देउवाजीले पनि भनिरहनुभएको छ, क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल शुरू भएको छ, विवाद टुङ्गिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ, तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यकता छैन,’ उनले भने ।

पूर्वउपप्रधानमन्त्री निधिले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले टुङ्ग्याइसकेकाले अब चाँडै मन्त्रिपरिषद् पनि विस्तार हुने बताए। नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहको हुँदा मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको उनको भनाइ थियो ।

‘माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेको छ, पार्टी सभापति देउवाजीलाई प्रधानमन्त्री बनाउन ज–जसले सहयोग गर्नुभएको छ, उहाँहरू सबै पक्षलाई सरकारमा समावेश गराउने हाम्रो चाहना छ, त्यसैले केही ढिला भएको हो’, उनले भने । सबै दललाई सरकारमा सहभागी गराउने आफूहरुको चाहना भएको र त्यसका लागि छलफल भइरहेको उनले जनाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस