सूचना प्रविधि

सामसङलाई उछिन्दै साओमी बन्यो संसारकै ठूलो स्मार्टफोन ब्रान्ड

xiaomi mi

२२ साउन, काठमाडौं । केही वर्षदेखि स्मार्टफोन कम्पनी सामसङ र साओमीको बजारी प्रतिस्पर्धा बढेको छ ।

तीन वर्षअघि साओमीले सामसङलाई पछि पारेर भारतको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको थियो । हालै भने चिनियाँ स्मार्टफोन कम्पनी साओमीले विश्वव्यापी रूपमा सामसङलाई उछिनेर पहिलोपटक संसारकै ठूलो स्मार्टफोन निर्माता बनेको छ ।

काउन्टरपोइन्ट रिसर्चको पछिल्लो तथ्यांक अनुसार सन् २०२१, जुनमा संसारकै अग्रणी स्मार्टफोनको सूचीमा सामसङ दोस्रो स्थानमा झरेको छ । सामसङको सेयर १५.७ प्रतिशतले घटेको छ। उता साओमीको सेयर १७.१ प्रतिशत बढ्दै गत जुनमा पहिलो स्थानमा उक्लिएको हो ।

यस्तै एप्पलको सेयर पनि घटेको छ। कम्पनीले विश्वव्यापी स्मार्टफोन बजारको १४.३ प्रतिशत सेयर मात्र प्राप्त गरेको साममोबाइलले जनाएको छ । साओमीको उत्पादन बिक्री गत मे महिना यतादेखि महिनैपिछे २६ प्रतिशतले बढेको छ । साओमी सन् २०११ मा सञ्चालन भएको थियो । वर्षौंदेखि साओमीका सिइओले धेरैपटक सामसङलाई पछि पारेर विश्वको ठूलो स्मार्टफोन ब्रान्ड बन्ने सपना देखेको कुरा उल्लेख गर्दै आएका थिए । अहिले कम्पनीले यो सपना पूरा गरेको बताएको छ ।

काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान निर्देशक तरुण पाठकका अनुसार अमेरिकाले चिनियाँ स्मार्टफोन कम्पनी हुवाइमा प्रतिबन्ध लगाएपछि विश्वबजारमा यसको ठूलो गिरावट भयो । यसैसँगै साओमीले लगातार विश्वबजारमा उक्लिन प्रयास गरिरहेको थियो ।

केही वर्षअघि एप्पलको वर्षौंको वर्चस्व तोड्दै सामसुङ लगातार एक नम्बरमा परिरहेको थियो । तर हाल भियतनाममा कोभिडको नयाँ लहरका कारण सामसङको स्मार्टफोन उत्पादन प्रभावित भएको बताइएको छ । अर्को त्रैमासिकमा आपूर्ति समस्याहरू समाधान गरेर सामसङले बजारमा फेरि आफ्नो स्थान लिने अपेक्षा गरिएको साममोबाइलले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस