२३ साउन, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी आएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक संक्रमितको संख्यामा कमी देखिएको हो । शुक्रबारभन्दा शनिबारको विवरणमा झन्डै ६ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
शनिबार सार्वजनिक गरिएको विवरणानुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् । जबकि, शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ संक्रमित भएको उल्लेख थियो ।
सरकारी अधिकारीका अनुसार पछिल्लो एकैदिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै समयावधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले अहिले संक्रमित अवस्थामै रहेकाको संख्या घटेको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कुल संख्या चार लाख १२ हजार १५३ रहेको छ । जबकि, अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो । सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामै रहेका छन् ।
संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ ।
भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको संख्या ५० करोड १० लाख नौ हजार ६०९ पुगेको छ ।