२३ साउन, काठमाडौं । तालिवानले उत्तरी अफगानिस्तानको जज्जान प्रान्तस्थित जेल कब्जा गरेर सबै बन्दीहरुलाई रिहा गरेको जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सयौं बन्दीहरु सेबर्घान शहरको जेलबाट निस्कदैं गरेको देखिन्छ । शनिबारै यस क्षेत्रमा तालिवानी लडाकुहरुले आक्रमण गरेका थिए ।
तालिवानले यस शहर कब्जामा लिइसकेको छ । यसअघि उसले निमरोज प्रान्तको राजधानी जरान्ज कब्जामा लिएको थियो । देशभर तालिवान र अफगानी सेनाबीच लडाँइ चलिरहेको छ । सेबर्घान शहर अफगानिस्तानका पूर्व उपराष्ट्रपति तथा युद्ध सरदार अब्दुल रसिद दोस्तमको पकड रहेको क्षेत्र मानिन्छ, यहाँ रसिद दोस्तमका समर्थकहरुले पनि तालिवानविरुद्ध लडेका थिए ।
स्थानीय मिडियाकाअनुसार १ सय ५० जना व्यक्तिहरु अफगानी सेनालाई सहयोग गर्न शहरमा पुगेका थिए । तिव्र लडाइँपछि शुक्रबार तालिवानले गर्भनरको कम्पाउन्ड कब्जामा लिएको थियो । त्यसपछि यहाँ फेरि अफगानी सुरक्षा बल फर्किएको थियो ।
लामो समयसम्म चलेको युद्धपछि अहिले भने तालिवानले सैनिक अखडाबाहेक पुरै शहर कब्जामा लिइसकेको बीबीसीले जनाएको छ । सैनिक ब्यारेकमा अझै पनि युद्ध जारी छ । देशका अन्य इलाकामा पनि भिडन्त जारी छ । लडाँइमा तालिवान विजयी हुन थालेसँगै सर्वसाधारणहरु एकपछि अर्को गर्दै गाउँ छाडेर हिड्न थालेका छन् ।
पश्चिमतर्फको हेरात, दक्षिणतर्फका कन्दहर र लस्कर गाह शहरमा पनि तालिवानी विद्रोहीहरुले आक्रमण बढाइरहेका छन् । अफगानिस्तानको काबुलमा तालिवानी लडाकुले राष्ट्रपति असरफ घानीका पूर्व प्रवक्ताको हत्या गरेका छन् । त्यसैगरी, कार्यकारी रक्षामन्त्रीको घरमा बम बिस्फोट गराएका छन् ।