खेलकुद समाचार

ओलम्पिक खेलकूद- भलिबलमा अमेरिकालाई स्वर्ण

Olympic

२४ साउन, काठमाडौं । विश्व खेलकुदको कुम्भ मेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूद अन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो ।

यसअघि अमेरिका तीन पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चित्त बुझाउनु परेको थियो । फाइनल खेलमा अमेरिका सन् १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो । अमेरिकाले पहिलो सेटमा २५–२१ को सहज जित निकाल्यो ।

दोस्रो सेट २५–२० र तेस्रो सेट  २५–१४ को सहज जित निकाल्दै विजयी हुन सफल भयो । त्यसअघि आज नै भएको अर्को खेलमा सर्वियाले कास्य पदक हात पार्यो । सर्वियाले दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै कास्यपदक जितेको हो । सर्वियाले २५–१८, २५–१५ र २५–१५ को सोझो सेटमा जित निकालेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस