२५ साउन, काठमाडौं । जापानको राजधानी टोकियोमा ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोनाभाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो ।
जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ । विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो । टोकियो ओलम्पिकमा कोरोनाका कारण मैदानमा दर्शकलाई अवलोकनको अनुमति दिइएको थिएन ।
टोकियो ओलम्पिकमा कुल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए । खेलाडीले कुल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्यपदकका लागि प्रतिस्पर्धा गरेका थिए । उद्घाटन समारोहमा नेपालको झन्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले बोकेका थिए भने समापनमा स्वयंसेवकले बोकेका थिए । टोकियो ओलम्पिकमा ९३ देश पदक जित्न सफल रहे । नेपालसहित ११२ देश पदकविहीन बन्न पुगे । टोकियो ओलम्पिकमा ६५ देशले मात्र स्वर्णपदक चुम्न पाए ।
टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो भने चीन दोस्रो तथा आयोजक जापान तेस्रो स्थानमा रहन पुग्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल भयो । यस्तै, चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक तथा आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक प्राप्त गरेको छ ।
यसैगरी, पदक तालिकामा बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्यसहित पाँचौँ, अष्ट्रेलिया १७ स्वर्ण, सात रजत र २२ कास्यका साथ छैटौँ, नेदरल्यान्ड्स १० स्वर्ण, १२ रजत र १४ कास्यसहित सातौँ, फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित आठौँ, जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यका साथ नवौँ तथा इटाली १० स्वर्ण, १० रजत र २० कास्यपदकका साथ १०औँ स्थानमा रहे ।
दक्षिण एसियाली मुलुकमध्ये भारतले एक स्वर्ण, दुई रजत तथा चारवटा कास्य पदक जित्यो । दक्षिण एसियाका अन्य कुनै पनि देशले पदक प्राप्त गर्न सकेनन् । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । अरु ओलम्पिकजस्तै टोकियोमा पनि नेपाली खेलाडी सहभागितामै सीमित रहे । पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए । जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन भने सामान्य रह्यो ।
सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल स्पर्धामा ६१६.८ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियारले त्यसअघि नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ६१४.५ बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौथो भएकी थिइन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।
पौडी खेलाडी एलेक्स शाहले टोकियोमा आफ्नै राष्ट्रिय कीर्तिमान भंग गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गरे । त्यसअघि, उनको नाममा ५४.१३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । शाहले सो कीर्तिमान नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा बनाएका थिए ।
यसैगरी, पौडीकै गौरिका सिंहले पनि टोकियो ओलम्पिकमा आफ्नो कीर्तिमानमा सुधार गरिन् । उनले महिला १०० मिटर फ्रिस्टाइलमा एक मिनेट ११ सेकेन्डको कीर्तिमान बनाइन् । त्यसअघि, सिंहले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा एक मिनेट ५६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । टोकियो ओलम्पिकमा उनी अर्को चरणमा भने पुग्न सकिनन् ।
यसैगरी, एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी थिइन् । महिला १०० मिटर दौड उनले १२.९१ सेकेन्डमा पूरा गरेकी थिइन् । उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । त्यसअघि, चौधरीले १०० मिटर दौड पूरा गर्न १२.५५ सेकेन्ड खर्चिएकी थिइन् ।
यस्तै, जुडोकी सोनिया भट्ट पहिलो चरणमै रसियन खेलाडीसँग पराजित भइन् । यही साउन ८ गतेदेखि सुरु भएको टोकियो ओलम्पिक १९ दिनसम्म सञ्चालन भएको थियो । सन् १९६४ मा पहिलोपटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि पुनः ओलम्पिक आयोजना गरेको हो ।