समाचार

नमोबुद्धमा ज्येष्ठ नागरिकलाई घरघरमै खोप

johnson vaccine

२६ साउन, बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनीहरुलाई नगरपालिकाले कोरोनाविरुद्धको खोप घरघरमा लगाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

नमोबुद्ध–८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भनिन्, “आज म खुसी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।”

उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो । सोही अवसरमा नगरप्रमुख टंकप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए ।

नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन् । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका सुरुआत गरेको थियो । नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ  । नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ ।

उनले भने, “कोही नागरिक खोपबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ ।” नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायत स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।

आइसोलेसनमा बिरामीको चाप बढ्यो
पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेको संख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेसन केन्द्रमा संक्रमितको चाप बढेको छ । पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको बताइएको छ ।

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारी दिए । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस