
२६ साउन, धनगढी । प्रहरीले कैलालीबाट विभिन्न हतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले सोमबार पूर्वपश्चिम राजमार्गमा बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा हतियारसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलारी गाउँपालिका-९ बस्ने ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाह रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुमध्ये चौधरीको साथबाट १२ बोर बन्दुक र त्यसको कार्टिज तथा शाहबाट पोइन्ट टुटु बन्दुक र १० राउण्ड गोली बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजना शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस