२६ साउन, काठमाडौं । रुपन्देहीमा ट्रकचालकको हत्या गरी १८ लाख मूल्यबराबरको खाद्यान्न लुटिएको घटना सार्वजनिक भएको छ ।
भारतीय नम्बर प्लेटको युपी ५३ एटी ०१४१ नम्बरको ट्रकका चालक भारत महाराजगन्ज ग्राम एकडेगवा टोल बुडवा बस्ने तौफिक अहमद पठानको हत्या गरेर खाद्यान्न चामल लुटपाटमा संलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
चालकको शव सिद्धार्थनगर नगरपालिका– १३ डण्डा खोलामा पानीमा तैरिएको अवस्थामा प्रहरीले साउन २० गते फेला पारेको थियो ।
सिद्धार्थनगर नगरपालिका–६ निवासी ३० वर्षका सद्दाम कुजडा, सोही ठाउँका २७ वर्षीय रिजवन भन्ने अलि मुसलमान, २८ वर्षीय महेश कहार र तनहुँको शुक्लागण्डकी १० बस्ने २७ वर्षीय सुनिल पौडेल हत्यामा संलग्न भएको पत्ता लगाई रूपन्देही प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौंमा रहेका व्यापारी नन्दन गुप्ताले मगाएको चामल रुपन्देहीमा लुटिएको हो ।
यस्तो छ घटनाक्रम –
प्रहरीले सार्वजनिक गरेको घटना विवरण अनुसार भारतबाट नेपालमा चामल सप्लाई गर्ने व्यापारीले काठमाडौंमा रहेका व्यापारी नन्दन गुप्तालाई साउन २० गते १८ लाख मूल्य बराबरको चामल पठाएका थिए । चालक भारतीय भए पनि रुपन्देहीको रोहिणी गाउँपालिका–२ मा गुप्ताको ससुराली छ ।
सिद्धार्थनगर–६ निवासी ३० वर्षीय सद्दाम कुजडाले काठमाडौंका नन्दनले चामल मगाएको भन्ने पत्ता लगाएर उनको मोबाइल नम्बर खोजी गरी दोस्रो व्यापारीका रूपमा पटक–पटक कुरा गरेको प्रहरीको भनाइ छ ।
काठमाडौंका व्यापारी नन्दन र सिद्धार्थनगरका सद्दामबीच चिनजान नभए पनि नगद कारोबारमा चामल खरिद गर्ने भन्ने फोनमा कुराकानी भएपछि गाडी चालकसँग सम्पर्क गराएको प्रहरीको अनुसन्धानमा खुलेको छ । काठमाडौंका व्यापारीले गाडी चालकलाई चामल अनलोड गर्नुभन्दा अगाडि पैसा लिएर मात्र अनलोड गर्नु भनि पठाएको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।
भैरहवा भन्सारमा साउन २० गते भन्सार सम्बन्धित सबै काम सकेपछि भन्सार कार्यालयदेखि करीब १ किलोमिटर बाईपास रोडमा आएर सद्दाम कुजडा, अलि मुसलमान र महेश कहार चालकसँग बसेर मादक पदार्थ सेवन गरेको र राति हिँड्दै डण्डा खोला नजिक पुगेपछि इँटा प्रहार गरी खोलामा फालेको खुलेको छ ।
त्यसपछि ट्रक लिएर नवलपरासीको भुमईमा २ वटा नेपाली ट्रकमा चामल अनलोड गरी भारतीय ट्रकलाई पुनः फर्काएर सुनौलीमा पुर्याई छाडेको अनुसन्धानबाट खुलेको रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए । २ वटा ट्रकमा रहेको चामललाई तनहँुको शुक्लागण्डकीका सुनिल पौडेलले अर्को चामलको बोरा तयार गरी नयाँ बाण्डको चामल बनाएर बिक्री गर्ने जिम्मा लिएका थिए । त्यसका लागि उनीहरूले चामलको बोरा समेत बनाइसकेको प्रहरीको भनाइ छ ।
मृतक परिवारको सम्पर्कमा नआएपछि प्रहरीमा खोजतलासका लागि निवेदन परेको थियो । साही आधारमा डण्डा नदीमा भेटिएको शवको सनाखत गराउने क्रममा घटना बाहिर आएको हो । प्रहरीले लुटिएको चामल, हत्या र लुटपाटमा संलग्नलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको छ ।