
२६ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ ।
वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले जानकारी दिए । आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ ।
शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस