
१ भदौ, काठमाडौं । ‘अमेरिका पठाइदिन्छु’ भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ घर भई काठमाडौं–३१ तीनकुने बस्ने ५९ वर्षीय लाल बहादुर कार्की छन् ।
कार्कीलाई वैदेशिक रोजगार विभागको पत्र पछि महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । पाँचथर तुम्बेवा गाउँपालिका–५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका पठाउने भनेर साढे ११ लाख रुपैयाँ ठगेर कार्की फरार बनेका थिए ।
कार्कीलाई झापा अर्जुनधारा नगरपालिका–५ शान्तिचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ । उनले अमेरिका जान ४० लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलव हुने जागिर लगाइदिने प्रलोभन देखाएको राईले बताए ।