विश्व/प्रवास

हाइटीमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १,९४१ पुग्यो

Haiti earthquake

२ भदौ, लेस केयेस । गएको शनिबार हाइटीमा गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मंगलबार जानकारी दिएको छ ।

यस भूकम्पमा परी नौ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका जनाइएको छ ।

यसैबीच, भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६ जनालाई जीवित उद्धार गरिएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिणी सहर लेस केयेसबाट उत्तर–पश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायत भवन भत्किएका छन् । यस प्रकोपको कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसंघको बालबालिका एजेन्सी युनिसेफले जनाएको छ ।

हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० म्याग्निच्युडको भूकम्पले पोर्ट–औँ–प्रिन्स र नजिकैका अधिकांश सहरमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । तीन लाखभन्दा बढी घाइते भएका एक लाख ५० हजारभन्दा बढी हाइटीवासी घरबारविहीन भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस