
४ भदौ, काठमाडौं । चीनमा हजार वर्षअघि बनाइएका बुद्धका मूर्तिहरू चोरी भएका छन् । दक्षिण पश्चिमी प्रान्त सिचुवानको वाङकाङ काउन्टीबाट २३ वटा मूर्ति चोरी भएका हुन् ।
चिनियाँ सञ्चारमाध्यमहरूले प्रकाशित गरेका समाचारमा मूर्ति चोरी भएपछि १३ जना अधिकारीहरूलाई कारबाही गरिएको छ । उनीहरूमध्ये ८ जनालाई अनुशासनको कारबाही गरिएको छ भने पाँच जनालाई प्रहरी हिरासतमा राखिएको छ ।
वाङकाङ काउन्टीको फोजी पहाड बुद्ध मूर्तिका लागि प्रख्यात छ । त्यहाँ बुद्धका सयौं मूर्तिहरू बनाइएका छन् । चोरी भएका मूर्ति ताङ शासनकाल (६१६-९०७ ) मा बनाइएको अनुमान गरिएको छ ।
तीमध्ये ११ वटा मूर्तिमा बुद्धका टाउकोमात्रै छ भने बाँकी १२ वटा पूर्ण कदका मूर्ति छन् । ती मूर्तिहरू कहिले चोरी भएका हुन् भन्ने अधिकारीहरूलाई थाहा छैन । गत जनवरीमा पूरातत्वविद्हरूको टोलीले बुद्धका मूर्ति हराएको थाहा पाएको थियो ।
त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। निकै बिकट ठाउँ भएकाले त्यहाँ सिसी क्यामेरा जडान भएको थिएन। त्यसले गर्दा अनुसन्धान गर्न कठिनाइ भएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ।
अनुसन्धान गर्न कठिनाइ भएपछि वाङकाङ काउन्टीका अधिकारीहरूले मूर्तिबारे जानकारी दिनेलाई पुरस्कार घोषणा गरेका छन् । ग्लोबल टाइम्सका अनुसार मूर्तिबारे क्लु दिनेलाई प्रहरीले ५० हजार युआन (झन्डै ९ लाख तेह्र हजार रुपैयाँ) पुरस्कार दिने बताएका छन् ।