४ भदौ, काठमाडौं । लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै विद्युत प्राधिकरण काठमाडौंमा उजुरी परेको छ ।
इन्टरनेट सेवाप्रदायक संघ नेपाल (इस्पान)ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउँ भनी विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका हुन् ।
इस्पानले नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बोधार्थ गरी उजुरी दर्ता गरेको छ ।
भरतपुर विद्युत प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिन सम्म पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाएका कारण आम उपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट बन्चित हुन पुगेको आईस्पानले जनाएको छ ।
इन्टरनेट सेवाको तार काट्दा वा दूरसञ्चार उपकरणमा हानी नोक्सानी गरेमा वा त्यस्तो उद्योग कसुरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।