५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच सातामा ४८ लाखभन्दा बढिले कोरोनाविरुद्धको खोप लगाएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै नागरिकलाई नि:शुल्क खोप दिलाउनु रहेको घोषणा गरेका थिए । उनी प्रधानमन्त्री भएयता बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
त्यसअघि झण्डै ३६ लाखले मात्रै खोप पाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ । त्यसमध्ये ४९ लाख ७ हजार ५ सय २३ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन् ।
त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् । देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको मन्त्रालयको भनाइ छ ।
सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निःशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी रहेको मन्त्रालयको भनाइ छ ।