७ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिक गोली हानाहान भएको छ । भिडन्तमा एक अफगान सुरक्षाकर्मीको ज्यान गएको छ । अरु तीनजना घाइते भएका छन् ।
पहिचान नखुलिएका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार गोली हानाहान भएको जर्मन आर्मीका अधिकारीले बताएका छन् । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएका थिए ।
गएको हप्ता (अगस्ट १५) मा तालिबानले काबुलमा नियन्त्रण कायम गरेसँगै विमानस्थल क्षेत्र अस्तव्यस्त देखिएको थियो हप्ताभर नै । आइतबार केही व्यवस्थित देखिएको विमानस्थल आसपासको क्षेत्रमा सोमबार गोली हानाहान भएको हो ।
नेटोका आधिकारीले विमानस्थल आसपासको क्षेत्रमा गत हप्ताभरमा गोलीकाण्ड तथा भागदौडका कारण कम्तीमा २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सलाई बताएका थिए ।