७ भदौ, काठमाडौं । लडाकु समूह तालिबानले देशलाई आफ्नो हातमा लिँदै गर्दा यसले राजधानी काबुल बाहिरको जनजीवन र विशेषगरी महिलाहरुको अवस्थाबारे सोच्नै कठिन बनाइदिएको छ । यसै सम्बन्धी संचार माध्यम सीएनएनले अफगानिस्तानस्थित २० वर्ष उमेर समूहका तीन शिक्षित महिलाहरुसँग तालिबानको शासनमा तिनको धारणा र आगामी भविष्यबारे कुराकानी गरेको छ ।
तालिबानले यो भन्दा अगाडि शासन गर्दा उनीहरु तीनैजना स–साना बालिका थिए । उनीहरुमध्ये एक महिला हाल काबुलमा आफ्नो परिवारसँग शरण लिइरहेकी छन् । उत्तरतर्फको कुन्दुज सहरमा रकेट प्रहार भएपछि नै उनीहरु आफ्नो घर छाडेर काबुल आउन बाध्य भएको उनले बताइन् । उनी भन्छिन्, “कुनदुज अहिले यस्तो भयावह ठाउँ बनेको छ जहाँ कोही मानिस पनि हुनुहुँदैन । तर, अझै मेरा पूर्वसहकर्मी र धेरै मानिसहरु त्यहाँ फसेका छन् । विशेषगरी महिलाहरु घरबाट निस्किएकै छैनन् । उनीहरु भित्रै थुनिएर बस्नु परेको छ । त्यस्तै जागिर भएकाहरु पनि बाहिर आउन डराइरहेका छन् । सबैजना तालिबानले आफ्नो ज्यान जोखिममा पार्न सक्छन् भनेर त्रसित छन् ।”
यसमा उनले आफ्नै लागि व्यवसाय गर्ने या काम गर्ने अनि पूर्व सरकारका लागि काम गर्नेबीच ठूलो भिन्नता भएको कुरामा पनि ध्यानाकर्षण गराएकी छन् । उनले भनिन्, “आफ्नै लागि काम गरिरहेकाहरुले त्यति ठूलो परिवर्तन नदेख्लान् । तर, सरकारी कर्मचारीहरु चाहेर पनि घरबाट बाहिर निस्कन सक्दैनन् । तालिबानले उनीहरु काममा फर्कन स्वतन्त्र भएको घोषणा गरे पनि कोही त्यस किसिमको जोखिम मोल्न चाहँदैन ।”
उनले थप भनिन्, “तालिबानको मुखबाट निस्किएको कुरा कसैले विश्वास गर्दैन । गर्ने पनि कसरी ? तालिबान बदलिसके भन्ने कुरामा मलाई ठूलो शंका छ । उनीहरुको मूल्य मान्यता अफागानी जनताभन्दा धेरै फरक छ । उनीहरुका लागि लोकतन्त्र केही होइन । अहिले अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघले उनीहरुको गतिविधि नजिकबाट हेरिरहेकाले मात्र तालिबान अगाडि आएर कुरा गरिरहेको छ । त्यसैले नै म जस्ता धेरै यो देश छाड्ने प्रयास गरिरहेका छौँ । एनजीओमार्फत होस् या कुनै मानवतावादी एजेन्सी हामीलाई केबल यहाँबाट बाहिरिनुछ । तर दुर्भाग्यवश् यो क्षेत्रमा मलाई कसैले पनि मद्दत गरेको छैन । ”काबुलभन्दा टाढाका प्रान्तहरुमा जनजीवन तालिबानको शासन अगाडि नै कठिन रहँदै आएको थियो । त्यहाँ अवसर र श्रोतसाधनको अभावकै कारण महिलालाई बेवास्ता गरिन्थ्यो । र, अहिले तालिबानबाट पनि उत्तिकै दबाब आउनाले उनीहरुको जीवन झन चुनौतिमय बनेको छ ।
३ लाख ५० हजार मानिसहरु बसोबास गर्ने कुन्दुज सहरमा फसेकी अर्की महिलाले सीएनएनसँग कुरा गर्दै दैनिक उपभोग्य वस्तुको जोहो गर्न कठिन भइरहेको बताइन् । उनका पिता यसअघि संयुक्त राष्ट्र संघमा काम गर्दथे जो अहिले बेरोजगार भएका छन् । उनी भन्छिन्, “हामी यतिबेला खाना र पानीबारे सबैभन्दा धेरै चिन्तित छौँ ।” उनले सहर शान्त नै भएको तर सबैतिरको माहोल गम्भीर रहेको व्याख्या गरिन्, “हाल यहाँ शान्त नै छ तर मानिसहरु एकदम चिन्तित छन् । कसैको दिमाग संयम छैन सबै तनावग्रस्त बनेका छन् । तालिबानले महिलाहरु स्कुल जान सक्छन् भनिरहेका छन् तर उनीहरु एक्लै गए भने पुरुष अभिभावकसँगै ल्याउन भन्ने गरेका छन् ।”
एउटा घटनाबारे बताउँदै उनले भनिन्, “जस्तै कि हाम्री एक शिक्षिका स्कुल जानलाई भनेर रिक्सामा बसेकी थिइन् । तर, तालिबानले तुरुन्तै उनलाई रोकेर ती रिक्सा चालकलाई किन पुरुष अभिभावक बिना यात्रा गराएको भन्दै नराम्रोसँग कुटपिट गरे । हामी दिनहुँ यस्तै समस्या भोगिरहेका छौँ ।” यिनै कारणले पनि आफूलाई अफगानिस्तान सुरक्षित लाग्न छाडिसकेकाले उनले बताइन् । उनी थप भन्छिन्, “म कुन्दुज सहर र सकेसम्म यो देशै छाडेर जान चाहन्छु । म यहाँ एक स्थानीय संचारकर्मी थिएँ । र, मेरो एउटा मात्र आशा भनेको संघसंस्थाहरुले पत्रकारलाई बाहिरिन मद्दत गर्लान् भन्ने थियो । तर, मैले सबैलाई इमेल पठाइसक्दा पनि कसैबाट केही जवाफ आएको छैन ।”
अर्को सहर, हेरत अफगानिस्तानको तेस्रो सबैभन्दा ठूलोमा पर्दछ, जहाँ ५ लाखभन्दा धेरै बसोबास गर्छन् । यो इरानतर्फ जाने बाटोमा अवस्थित छ र ऐतिहासिक अनि सांस्कृतिक हिसाबले महत्त्वपूर्ण स्थल मानिन्छ । त्यहीँकी अर्की महिलाले सीएनएनसँग बताइन्, “सबैलाई अहिले ठूलो झट्का लागेको छ । अचानक राष्ट्रपति घानीको सरकार ढल्नु र तालिबानको शासन लागू हुनुले मान्छेको दिमागभरि प्रश्नै प्रश्न मात्र छाडिदिएको छ ।” तर, बाँकी दुई महिलाभन्दा यसप्रति उनको धारणा भने बेग्लै रहेको पाइएको छ ।
उनी भन्छिन्, “तालिबानले हाम्रो सम्पूर्ण जनसङ्ख्यामा शान्ति र स्थिरतापूर्ण शासन ल्याउने आशा दिलाइरहेको छ । अनि हेरत र मरल इ शरिफ जस्ता सहरहरुमा तालिबानको उपस्थिति पनि काबुलको तुलनामा धेरै बलियो छ । यसकारण सबै अहिले तालिबानको आगामी योजनाको पर्खाइमा छन् । पुरुषहरुका लागि यी सबै विषय त्यति चिन्ताजनक छैन तर महिलाहरु तनावमा छन् । २० वर्षको लामो संघर्ष र यत्तिका प्रगतिपछि फेरि ९० कै दशकमा फर्किनु पर्ने हो कि भन्ने उनीहरुको प्रश्न छ । तर, यसपटक स्थितिमा सुधार पो आउने हो कि भन्ने आशा पनि कतै न कतै छ ।” उनी अगाडि थप्छिन्, “पुरुषहरुले व्यक्तिगत स्तरमा महिलाजति चिन्तित भएर बिताउनु नपरे पनि अवस्थाबारे ढुक्क हुन सकेका छैनन् । उनीहरु आफ्ना छोराछोरी र पत्नीको भविष्यबारे चिन्तित छन् । विशेषगरी युवा छोरी भएकाहरु डराइरहेका छन् ।”
उनका अनुसार सबैले अहिले देशभित्रको अनिश्चित वातावरणभन्दा देश बाहिरको अनिश्चित भविष्य नै कम भयावह हुनेछ भनिरहेका छन् । यसकारण पनि मानिसहरु देश छाडेर जान बाहाना खोजिरहेको उनले बताइन् । उनले भनिन्, “हाम्रा जनता हतासिएको अवस्थामा छन् ।” यता पूर्व सरकारसँग सम्बन्ध भएकाहरु सबैभन्दा बढी त्रासमा रहेको उनी बताउँछिन् । तालिबानले जे जस्तो वचन दिइरहेको भए पनि पूर्ण रुपमा विश्वास गर्न सकिने अवस्था नभएको उनको भनाइ छ । उनले भनिन्, “यहाँ हेरतमा तालिबानहरु विशेषगरी अफगान सुरक्षा बलसँग सम्बन्ध भएका मानिसहरुको घर घर गइरहेका छन् ।” सीएनएन