गण्डकी प्रदेश

गाईजात्रा : निषेधाज्ञाको मारमा गोरखा

sunsan thulo agan

७ भदौ, काठमाडौं । गाई जात्रा निकाल्ने सदरमुकामको ठूलो आँगन, नयाँ बजार छिपी टोल, बराह टोललगायत क्षेत्र अहिले सुनसान छ । विगतमा  हरेक वर्ष आजका दिन यहाँ गाईजात्राको छुटृै रौनक हुने गर्दथ्यो । गाईको प्रतीक बनाएर टोल टोलबाट निस्कने जात्राको भिडले बाटो हिँड्नसमेत गाह्रो हुन्थ्यो, नेवार समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा । यहाँ दिवङ्गत आफन्तको सम्झनामा मानिसलाई गाईको प्रतीक बनाएर नगर परिक्रमा गर्ने परम्परा धेरै पुरानो हो ।

युवायुवती, बूढापाका मात्र होइन साना साना बालबालिका पनि विभिन्न खालका वेषभूषामा फरकफरक रुप धारण गरी बाजागाजासहित सडकमा परिक्रमा गर्दा हेर्नेहरूको भिड हुने गर्दथ्यो तर यो वर्ष यहाँका टोल प्रायः सुनसान छ । दिवङ्गत आफ्न्तको संझानामा जात्रा निकालेर बजार परिक्रमा गर्ने दिन यहाँका सडकमा अहिले गाईजात्रा होइन प्रहरीको भ्यान साइरन बजाउँदै दौडिरहेका छन् ।

“गाईजात्रा यो वर्ष कति मान्छे मरेछ भन्ने देखाउने पर्व पनि हो”, नयाँ बजार छिपिटोलका सचिव रामबाबु श्रेष्ठले भने, “यस पटक गोरखा नगरपालिकाले पनि सबै टोलका प्रतिनिधिलाई बोलाएर नगरी नहुने साँस्कृतिक कार्यक्रम भीडभाड नहुनेगरी गर्न  अनुरोध गरेकाले परम्परा धान्ने हिसावले मात्र जात्रा मनाएका छौँ ।”

“जात्राको रौनक कोरोनाले खोसेकाले आठ–दश जना जम्मा हुन्छौँ, गाई बनाउम्छौं, बाजा बढाउछौं, करिब १० मिनेट भित्रै सम्पन्न गर्ने गरी परम्परा धान्ने काम गर्छौँ” उनले भने । अघिल्ला वर्षहरूमा जनै पूर्णिमाका दिन बाजागाजासहित विध्यवासिनी मन्दिरमा नुहाउन जाने गरिन्थ्यो भने गाईजात्राको दिन बिहान जोगी बनेर बाराही मन्दिरको नौ धारामा नुहाउने दिउँसो र बेलुकीपख मरेको मान्छेको घरबाट गाई निकालेर बाजागाजासहित टाकटुके नाच देखाउँदै बजार परिक्रमा गर्ने गरिन्थ्यो ।

छिपी टोलमा डोकोमा बाँस राखेर गाईकाको हातखुट्टा जस्तै आकृति निर्माण गरी जात्रा निकाल्ने यहाँको अर्को नौलो प्रचलन थियो । त्यसरी बनाइएको गाईलाई दिवङ्गत परिवारका सदस्य आएर पूजा गरेपछि  प्रसाद खुवाएर नजिकैको कुण्डमा लगेर जात्रा सेलाउने गरिन्थ्यो । जिल्लाभित्र कोरोना सङ्क्रमणको दर झनै बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ ११ गतेसम्म निषेधाज्ञा जारी गरेकाले हरेक वर्ष गाईजात्राका दिन निक्कै रौनक देखिने बजार क्षेत्र आज सुनसान देखिएको हो ।

कोरोनाले गर्दा आफ्नो परम्परा र संस्कृतिलाई समेत घरभित्रै साङ्केतिक रुपमा मनाउनुपर्ने बाध्यता भएको पाटेचौर टोलका हुकबहादुर श्रेष्ठले बताए । महिलाको मृत्यु भए बालिका र पुरुषको भए बालकलाई गाई बनाउने गरिएको चर्चा गर्दै उनले भने, “पछिल्लो समय धेरैजसो बालकलाई नै गाईको रूपमा सिँगारी जात्रा निकाल्ने प्रचलन बढेको छ ।”

कोरोना जोखिमका कारण यो पटक पाटेचौर टोलले पनि जात्रा ननिकाल्ने र दिउँसो एउटा टोलबाट मूल गाई निकालेर रानीपोखरीमा लगेर सेलाएर संस्कार मात्र चलाउने भएको छ । विगतमा भने दिउँसो गाई निकालेर कालिका मन्दिर, दरबार, गणेश मन्दिर घुमाएर राति सेलाउने गरिन्थ्यो । गाईजात्रा मनाउने प्रचलन ठाउँ र क्षेत्रअनुसार फरक हुने भए पनि गोरखा जिल्लामा काठमाडौंको संस्कारसँग मेल खाने उनले जानकारी दिए । यहाँ गाईजात्राका  दिन १३ वटा बाजाका ताल बजाउने गरिएको छ ।

सगुन दिने प्रचलन
गाई जात्रा सेलाएर फर्किएपछि जुन घरबाट गाई निकालिएको हो त्यस घरबाट जात्रामा सहभागी भएकालाई सगुन दिने प्रचलन छ । माछा, मासु, अण्डा, दही, रक्सी र मासुलाई सगुनको रूपमा प्रयोग गर्ने र गाई निकालेको घरबाट सुगन खाएर मात्र फर्कनु पर्ने चलन छ । सदरमुकाममा छिपिटोल, पँदेली, पाटेचौर, तिनधारे, ढाँड, बराह, मैदान, खिरेपानी, हरमटारी, कालीमाटी, शक्तिचोक, बसपार्कलगायत टोलबाट  बढीमात्रामा गाईजात्रा निकालिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *