
८ भदौ, काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा ओमान र अमेरिकाविरुद्ध हुने त्रिदेशीय शृङ्खला खेल्नका लागि नेपाली क्रिकेट टोली आज ओमान गएको छ ।
ओमानमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । त्यसका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम सलाम एयरमार्फत ओमान जान लागेका हुन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव अशोकनाथ प्याकुरेल, कोषध्यक्ष रोशनकुमार सिंहलगायतले भर्चुअलमा शुभकामनासहित बिदाई गरेका थिए ।
नेपालले भदौ २८ देखी असोज ४ गतेसम्म आईसीसी विश्व क्रिकेट लिग–२ अन्र्तगत ओमान र अमेरिकासँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । त्यसअघि नेपालले भदौ २० र २३ गते पपुवा न्युगिनीविरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । पीएनजीसँग नेपालले दोस्रो खेल दिवारात्री खेल्नेछ ।
आइसीसी विश्व क्रिकेट लिग–२ मा नेपालले घरेलु मैदानमा ओमान र अमेरिकाविरुद्ध चार खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेल हारेको थियो । चार खेलबाट चार अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।
१० खेलबाट १६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । स्कटल्यान्ड तेस्रो, नामिविया चौथो र युनाइटेड अरब इमिरेट्स पाँचौं स्थानमा छ। आठ खेलमा अंकविहीन पीएनजी सातौं स्थानमा छ ।