
१० भदौ, काठमाडौं । देशका केही नदीमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ । बहाव बढ्दा बाढीको जोखिम हुन सक्ने औँल्याइएको छ ।
बाढी पूर्वानुमान महाशाखाले विशेषगरी उदयपुर, काठमाडौं उपत्यका, सिन्धुली, दाङलगायत भई बहने स–साना नदी आसपास क्षेत्रमा बाढीको उच्च जोखिम हुन सक्ने जनाएको छ । आज नारायणी र यसका सहायक नदीहरू त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी र कालीगण्डकीमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा पनि बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । कोसी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाको पूर्वानुमान छ । उता, जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धौलीगंगा जलविद्युत् परियोजनाको जलाशय सफाइको लागि आज बिहान ७ देखि बेलुका ७ बजेसम्म बाँधको ढोका खोलिने भएकोले महाकाली नदीको जलसतह बढ्ने जनाएको छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, नवलपुर कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान, सुर्खेत, सल्यान, दैलेख, कञ्चनपुर, कैलाली, बाजुरा, बझाङ, अछाम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।