
१० भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभर नेकपा (एमाले)मा रहेका क्रान्तिकारीलाई क्रान्तिकारी धारमा समाहित हुन आह्वान गरेका छन् ।
निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी नेपालले एमाले निर्माणमा रगत–पसिना बगाएकाहरूलाई क्रान्तिकारी धार रोज्न आह्वान गरेका हुन् ।
“केपी ओली पाँच वर्षका लागि झिनो मतले अध्यक्षमा निर्वाचित भएका हुन्,” नेपालले भने, “तर, ओलीले कमिटी प्रणाली ध्वस्त पारे । पार्टीको होइन, व्यक्ति पूजाको परम्परा सुरुवात गरे । पार्टीको क्रान्तिकारी धारलाई समाप्त पार्ने प्रयास गरे ।”
उनले ओलीको व्यक्तिवाद र प्रतिगनका विरुद्ध गएको चैत ४ र ५ गते नै राष्ट्रिय भेला गरेर क्रान्तिको शंखनाद गरेको भन्दै अब त्यो सम्पूर्ण शक्ति एक हुने दिन आएको बताए ।
“हामी चैत ४ र ५ गतेको भेलाबाटै नयाँ पार्टीको घोषणा गर्न सक्थ्यौँ, त्यसो गरौँ भन्ने प्रस्ताव पनि हलभित्रैबाट आएको हो,” नेपालले भने, “त्यति बेला हजारौँहजार जनताको प्रतिनिधिको रक्षाका लागि संसद जोगाउनुपर्ने थियो । त्यसैले हामीले नयाँ पार्टी त्यस बेला खोलेनौँ ।”
उनले अहिले जनप्रतिनिधिमूलक संस्था र जनप्रतिनिधिको रक्षा गर्ने अवस्था भएका कारण नयाँ पार्टी खोलेको बताए ।