विश्व/प्रवास

अमेरिकामा फेरि बढ्दै कोरोना

covid 19 america

११ भदौ, काठमाडौं । अमेरिकामा बिहीबार कोभिड–१९ का बिरामी अस्पताल भर्ना हुने दर आठ महिनायताकै उच्च रह्यो । स्वास्थ्य तथा मानव सेवा विभागका अनुसार हाल अमेरिकामा एक लाख बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्, जसका लागि अधिक संक्रामक मानिएको डेल्टा भेरियन्टलाई जिम्मेवार ठहर्‍याइएको छ ।

गएको महिनादेखि अमेरिकामा कोभिड–१९ का कारण अस्पताल भर्ना हुने बिरामीको संख्या दुई गुणाले बढेको पाइएको छ । अघिल्लो हप्ता मात्र प्रत्येक घण्टा औसतमा ५०० कोभिड बिरामी अस्पताल भर्ना भएको र दैनिक एक लाख ५२ हजारभन्दा बढी नयाँ संक्रमित थपिइरहेको आधिकारिक डाटाले देखाएको थियो । गत वर्ष खोप नआउँदा समेत अस्पताल भर्ना हुने बिरामी यति धेरै थिएनन् ।

अमेरिकामा गएको जनवरीमा कोरोना संक्रमण सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । सन् २०२१ को सुरुवातदेखि नै खोप अभियान द्रुत गतिमा अघि बढाइएपछि अस्पताल भर्ना हुने बिरामी उल्लेखनीय रूपमा घटेका थिए ।

तर, जुलाईपछि डेल्टा भेरियन्टको प्रकोप सुरु हुँदा अचानक कोभिडका बिरामी बढ्न थालेका हुन् । हाल अमेरिकाको दक्षिणतर्फका क्षेत्रहरू कोरोना संक्रमणको नयाँ केन्द्र बनेका छन् । फ्लोरिडामा कोभिडका सबैभन्दा धेरै नयाँ बिरामी छन् । यसपछि टेक्सस र क्यालिफोर्नियामा पनि संक्रमण संख्या बढिरहेको छ । अमेरिकी स्वास्थ्य विभागका अनुसार अहिले अलबामा, फ्लोरिडा र जर्जियामा ९५ प्रतिशतभन्दा धेरै आईसीयू बेड भरिइसकेको अवस्था छ । विशेषगरी खोप नलगाएकाहरूमा डेल्टा भेरियन्ट तीव्र रूपले फैलिरहेको पाइएको छ । पछिल्लो रिपोर्टअनुसार कोरोनाबाट अहिले गम्भीर बिरामी भइरहेका अधिकांशले खोप लगाएका छैनन् ।

यस्तै, बालबालिकाहरू पनि गम्भीर रूपमा प्रभावित भइरहेको पाइएको छ । देशभर अस्पताल भर्ना हुने कोभिडका बिरामीमा २.३ प्रतिशत बालबालिका छन् । १२ वर्षभन्दा मुनिकालाई खोप नलगाइने हुनाले पनि उनीहरूलाई जोगाउन कठिन भइरहेको बताइन्छ । अमेरिकामा ६१ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको कम्तीमा एक डोज खोप लगाइसकेका छन् । रोयटर्सबाट ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस