
१२ भदौ, काठमाडौं । सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै सेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार र बिहीबार सेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको सेयरमा केही दबाब देखा पर्यो । साताभर कुल २३२ कम्पनीको ६ करोड ६६ लाख ६ हजार ४७५ कित्ता सेयर कारोबार भयो । साताभरको कुल कारोबार ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ रुपैयाँ बराबर रह्यो । कारोबार भएका ती दिनमा पनि बजार उतार–चढावपूर्ण अवस्थामा रह्यो । कारोबार भएको पहिलो दिन अर्थात् मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखियो ।
त्यस दिन विशेषगरी विकास बैंक र जलविद्युत् उपसमूहको सेयर मूल्यमा उच्च अंकको गिरावट देखियो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको सेयरमा अस्वाभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो । विद्युत् नियमन आयोगले समेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से ५६.०३ विन्दुले घटेर तीन हजार १२४.८७ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ विन्दुले घटेर ५७७.६६ मा घटेको छ ।
कुल २२५ कम्पनीको दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँमा कारोबार भयो । त्यस दिनको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब ६६ अर्ब ६ करोड १९ लाख १० हजार रुपैयाँ बराबरमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको सेयर ओरालो लाग्यो । विवरणानुसार त्यस दिन १६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लाग्यो ।
मंगलबारजस्तै धितोपत्र बजारमा बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । त्यस दिन नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत खुम्चियो । कुल २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।
त्यस दिनको कारोबारपछि बजार पुँजीकरण ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार रुपैयाँ बराबर पुग्यो । सो दिन कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आयो । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रही ४८ करोड ७१ लाख पाँच हजार ३४६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भयो । बिहीबार नेप्सेमा दोहोरो अंकको सुधार भयो । त्यस दिन नेप्से १७.६० अंकले बढेर तीन हजार ९४.०५ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० विन्दुले बढेर ५७१.३९ मा पुगेको छ ।
नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कुल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । साताको अन्तिम दिनको कारोबारका आधारमा ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ रुपैयाँ बराबरको बजार पुँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर उकालो लाग्दा आठ उपसमूहको सेयर भने ओरालो लाग्यो ।
दुई दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा विभिन्न नौ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो ।