समाचार

बझाङका विभिन्न ठाउँमा पहिरो

pahiro balde

१२ भदौ, बझाङ । लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चारकोठे तीनतले घरको पछाडिबाट आएको पहिरोले घरमा क्षति पुगेको छ । पहिरोले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ ।

धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेको छ । पहिरो आएको थाहा पाएपछि मानवीय र पशुचौपाया जोगाउन सकिएको धामीले बताए । यस्तै, पहिरोले केदारस्युँ गाउँपालिका–५, चौडेल्लीमा देवबहादुर गुधार्मीको घरमा पनि क्षति पुर्‍याएको छ । गुरुधार्मीको परिवार छिमेकीको घरमा बसिरहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँकै करन धामीको घरको आँगन भत्किँदा घर जोखिममा परेको जनाइएको छ । चौडेल्लीकै नरुवा धामी, जयभान धामी, जसुवा धामीको घरमा पहिरो आएर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध
अविरल वर्षाका कारण आएको पहिरोले बझाङको चैनपुर–ताक्लाकोट सडकखण्ड अवरुद्ध बनेको छ । जयपृथ्वी नगरपालिका–११, कपडे पुलनजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि सुनिकोट, धमेना, रुपातोला, तलकोट, साइपाल तथा गाउँकै विभिन्न स्थानबाट चैनपुर आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । अविरल वर्षाका कारण बझाङको जयपृथ्वी राजमार्ग र यसका शाखा सडकमा पहिरो आउँदा अवरुद्ध बनेका छन् । गए रातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्गअन्तर्गत नारुगौडा खोलामा आएको बाढीले गर्दा आज दिउँसो १२ बजेपछि मात्रै सञ्चालनमा आएको छ ।

यस्तै, बुंगल–४, झापामा पहिरो आउँदा बिजगडा–कफलसेरी ग्रामीण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । गए रातिदेखि पहिरो खसिरहेको कचाली खोलामा बेला–बेलामा खोल्दै अवरुद्ध हुँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *