१३ भदौ, काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ महिला, १० बालक र १२ बालिका रहेका प्रहरीले जनाएको छ ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ११६ जना घाइते भएका छन् । तीमध्ये ६० जना पुरुष, ३२ महिला, १४ बालक र १० बालिका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । बाढीपहिरोमा २८ जना बेपत्ता भएका छन् ।
तीमध्ये १७ जना पुरुष, ६ महिला, ४ बालक र १ बालिका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका १ हजार २७५ जनाको विभिन्न ठाउँबाट उद्दार गरी उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । बाढीको कारण ३ हजार १८० वटा घर डुबानमा परेका छन् । ९ सय घर, १५३ गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
उक्त अवधिमा भएका जम्मा १ हजार १३० वटा विपद्का घटनाबाट १ हजार २०९ वटा घर परिवारका ५ हजार ९२४ जना मानिस विस्थापित भएका प्रहरीले जानकारी दिएको छ ।