समाचार

देशभर वर्षा, मध्य क्षेत्र बढी प्रभावित, मंगलबारपछि वर्षा कम हुने

rain

१३ भदौ, काठमाडौं । विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदी समेत थुनिँदा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो । कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन् ।

वर्षापछिको बाढी, पहिरोले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित भयो । सिन्धुपाल्चोक जिल्ला पछिल्ला केही वर्षमा बढी प्रभावित हुनेमा पर्छ । त्यस बेला दुईपटक परेको भारी वर्षाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा शताब्दीकै ठूलो क्षति भएको भूगर्भविद्को दाबी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार नेपालमा मनसुन भित्रिएपछि आजसम्म बाढी–पहिरोले ९४ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएका छन् ।

झन्डै ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २५ जलविद्युत् आयोजना, २९ वटा मोटरेवल र २९ वटा झोलंगे पुलमा क्षति भएको छ । झन्डै ८०० घर पूर्ण क्षति भएको छ । नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो । मनसुन असोजको मध्यबाट हट्नेछ । मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो । विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपालि मध्य नेपालको तराई क्षेत्रमा देखियो । यद्यपि, मुलुकभर नै भदौरे झरी जारी छ । त्यसकारण हजारौँ घर डुबानमा परेको छ । अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्यांक छ ।

प्राप्त विवरणानुसार विभिन्न जिल्लामा पछिल्लो तीन दिनदेखिको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नौजनाको मृत्यु भइसकेको छ । अरू ६ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता आर्यालले जानकारी दिए । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र सोमबार पनि वर्षा जारी रहने तर मंगलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ । यद्यपि, वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ ।

मौसमविद् समीर श्रेष्ठले आज पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जानकारी दिए । उनले आज राति पनि नेपालको पश्चिम क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए । गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत पानी पर्नेछ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १८२ मिलिमिटर पानी परेको छ । चितवनमा १२७, पाल्पामा १२४ र नवलपरासीमा ११५ मिलिमिटर पानी परेको छ ।

वर्षा जारी रहेकाले प्राधिकरणले क्षति कसरी कम गर्न सकिन्छ र जोखिमबाट मानिसलाई कसरी जोगाउन सकिन्छ भनेर आज दातृनिकायका प्रतिनिधिसहितको समन्वयात्मक बैठक आयोजना गरेको थियो । बैठकमा रुपन्देही र आसपास एक दिनमा ४५० मिलिमिटरसम्म पानी परेको जानकारी गराइएको थियो । अझै पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही खोलामा बहाव बढ्ने देखिन्छ । गण्डकी नदी अहिलेकै अवस्थामा रहने देखिन्छ भने कोसीमा बहाव बढेको नभई थेग्र्यान बढेकाले नदीमाथि आएको हुँदा डुबान हुने सम्भावना कायमै छ । साना खोलामा भने बाढी बढ्न सक्ने र ठूला नदीमा घट्दो क्रममा रहेको जनाइएको छ ।

जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि जोखिम बढ्न सक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ । स्याटेलाइट तस्बिरको विष्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झन्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य संस्था क्षति भएको जानकारी प्राप्त नभएको र आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति सबै तयारी अवस्थामा राखिएको जानकारी दिए । नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा चार हजार ५०० घर डुबानमा परेको जनाइएको छ ।

डुबेका मध्ये १० प्रतिशत पूर्ण क्षति छ । एक हजार घरका मानिस अहिले विस्थापित भएको र कतिपय ठाउँमा रोगब्याधि निम्तिन सक्नेतर्फ सचेत हुन भनिएको छ । मौसमविद् राजु प्रधानांगले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिए । मंगलबार भने पूर्वतर्फ प्रभाव पार्ने उनले बताए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष मनसुनको आधा समय पार गरेर आउँदा विगतमा शताब्दीभर नभोगेका घटना व्यहोर्नुपरेको बताए । उनले कसरी घटना कम गर्ने, उद्धार र राहतलाई कसरी प्रभावकारी बनाउने र हराइरहेकाको खोजी र थप क्षति हुन नदिन कसरी समन्वयमा काम गर्नेतर्फ ध्यान दिन अनुरोध गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *