बागमती प्रदेश

नारायणीमा पानीको बहाव बढ्यो : उच्च सतर्कता अपनाउन आग्रह

flood

१३ भदौ, काठमाडौं । नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ । नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताए । “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पंगेनीले भने, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ ।”

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा नारायणी नदीको तटीय क्षेत्रमा बसोबास रहेको भन्दै ती स्थानमा डुबान र कटानको समस्या देखिएको पंगेनीले बताए ।

त्यसैगरी जिल्लाका अन्य खोलामा समेत बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । बर्खामा बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै उद्धारका लागि सुरक्षाकर्मीसहितको उद्धार टोली तयारी अवस्थामा राखिएको उनले बताए ।

देवघाटको बाढी मापन केन्द्रका अनुसार आज अपराह्न ४ः ४५ बजे नारायणी नदीमा पानीको बहाव ७.७ मिटर रहेको छ । नारायणी नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता तहको विन्दु मानिएको छ भने नौ मिटरलाई खतराको तह मानिएको छ । नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको बाढी मापन केन्द्रले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस