१४ भदौ, काठमाडौं । चीनले अफगानिस्तानलाई आर्थिक सहयोग उपलब्ध गराउन माग अमेरिकासँग गरेको छ । बेइजिङले मध्य एसियाली राष्ट्रले अस्तव्यस्तताको सामना गर्नुमा आफूले गरेको गल्तीबाट पाठ सिक्न वासिङ्टनलाई गरेको आह्वानलाई पनि दोहोर्याएको छ ।
चीनका वरिष्ठ कुटनीतिज्ञले युद्धग्रस्त देशबाट अगस्ट ३१ मा अमेरिकी फौज फिर्ता हुने समयसीमा अगाडि नै अफगानिस्तानका लागि तत्काल सहयोगको आवश्यकता रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्रीले एन्टोनी ब्लिन्कनसँगको आइतबार टेलिफोनमा चिनियाँ विदेशमन्त्री वाङ यीले सबै पक्षहरूले तालिबानसँग संवाद गर्नुपर्ने र अफगानिस्तानमा भएको मूलभूत परिवर्तनको माध्यमबाट पुनरोदय भएको समूहलाई मार्गदर्शन गर्नुपर्ने बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
“नयाँ शासनलाई सरकारी संस्थाहरूका सामान्य कामबारबाही सञ्चालन गर्न, सर्वसाधारणको सुरक्षा र स्थिरता कायम गर्न, मुद्रा स्फिति र मूल्य वृद्धि रोक्न र तत्काल शान्तिपूर्ण बाटोबाट पुनः निर्माणमा संलग्न हुन अफगानिस्तानलाई तत्काल आवश्यक रहेको आर्थिक, जीवनवृति र मानवीय सहयायता उलपब्ध गराउन संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय समुदायँग मिलेर काम गर्नु आवश्यक छ”, वाइ यीले बताएको चिनियाँ विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गएको साता १७० जनाको ज्यान जानेगरी भएको आत्मघाती बम विस्फोटको घटना पछि दुई देशका वरिष्ठ कुटनीतिज्ञले कुराकानी गरेका हुन् । दुई कुटनीतिज्ञबीच अफगान र विदेशी नागरिकहरूलाई सुरक्षित मार्ग र यात्रा गर्न स्वतन्त्रता दिनेलगायत विषयमा तालिबानले गरेका सार्वजनिक प्रतिबद्धताप्रति उसलाई जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय समुदायको महत्त्व रहेको विषयमा कुराकानी भएको अमेरिकाले जनाएको छ । पछिल्लो समय अफगानिस्तानमा चिनीयाँ चासो बढेको छ ।