१५ भदौ, कोपनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युरोपमा कोभिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ । युरोपका खासगरी गरिब मुलुकमा कोभिड–१९ विरूद्धको खोप दर कम रहेको र यसले कोभिड–१९ नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने डब्लूएचओले चिन्ता व्यक्त गरेको छ ।
डब्लूएचओ युरोपका निर्देशक हान्स क्लजले सञ्चारकर्मीसँग भने, “गत हप्ता यस क्षेत्रमा मृत्युको संख्यामा ११ प्रतिशत वृद्धि भएको थियो । एउटा विश्वसनीय अध्ययन रिपोर्टले युरोपमा डिसेम्बर १ सम्ममा थप दुई लाख ३६ हजार मानिसको मृत्यु हुन सक्ने देखाएको छ ।” युरोपमा अहिलेसम्म १३ लाख कोभिड–१९ संक्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।
युरोपका ५३ सदस्य राष्ट्रमध्ये ३३ मुलुकले गत दुई हप्तामा कोभिड–१९ संक्रमण दर १० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाएका क्लजले बताए । यस महादेशभरि भाइरस सर्ने दर उच्च रहेको र यो विशेषगरी विभिन्न देशहरूमा नियन्त्रणका लागि दिनुपर्ने प्राथमिक जनसंख्यामा अत्यन्तै कम रहेको कारण चिन्ताजनक अवस्था मानिएको हो ।
क्लजले बढी फैलिन सक्ने डेल्टा भेरियन्टको प्रसार रोक्न प्रतिबन्ध तथा नियन्त्रणक अन्य उपायहरूबारे देखाइएकोे सहजता र गर्मी यामसँगै वृद्धि भएका यात्राजन्य गतिविधि दोषी देखिएका बताए । युरोपका लगभग आधा मानिसलाई पूर्ण खोप लगाइएको भए तापनि यस क्षेत्रमा खोप लगाउने कार्य अझै पनि सुस्त भएको क्लजको बुझाइ छ । “विगत ६ हप्तामा यो १४ प्रतिशतले घटेको छ । कतिपय देशमा खोपको अभाव र केहीमा खोपलाई नस्वीकारिएका कारण यसको असर परेको छ ।”
युरोपका निम्न तथा निम्न मध्यम आय भएका मुलुकका ६ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन् । केही मुलुकले १० मध्ये एक स्वास्थ्यकर्मीलाई मात्र खोप दिएका छन् । उत्पादन बढाउन, धेरै मात्रा खोपको आपूर्ति गर्न तथा खोपको पहुँचमा सुधार ल्याउन खोप अभियानमा पछि रहेका युरोपेली मुलुकहरूलाई आग्रह गर्दै क्लजले भने, “हाम्रो क्षेत्रमा खोप अभियानमा सुस्तता आउनु गम्भीर चिन्ताको विषय हो ।”