
१५ भदौ, काठमाडौं । दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ समितिका संयोजक जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई एक महिना गलाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनको निष्कर्षबारे केही खुलाइएको छैन ।
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिकाका धामी तुइनबाट खसेर बेपत्ता भएका थिए । ‘भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काइदिएपछि’ धामी खसेर महाकालीमा बेपत्ता भएका हुन् । उनको अवस्था अझै अज्ञात छ ।
घटनाको अनुसन्धानका लागि सरकारले साउन १७ गते १० दिनमा प्रतिवेदन बुझाउन भन्दै गृह मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समिति हेलिकोप्टरमार्फत घटनास्थल पुगेको थियो । पीडितका परिवार, धामीसँग तुइन तरेका प्रत्यक्षदर्शीलगायतसँग टोलीले बयान समेत लिएको थियो । यसबीचमा समितिको म्याद तीनपटक थपिएको थियाे ।
जयसिंहसँगै तुइन तरेकाहरूले एसएसबीले तार काटेपछि उनी महाकालीमा खसेको बयान प्रहरीलाई दिएका छन् । प्रहरी अधिकारीले समेत भारतीय एसएसबीकै कारण जयसिंह महाकालीमा बेपत्ता भएको अनौपचारिक रूपमा बताउँदै आएका छन् ।