स्वास्थ्य

एन्टिबडीको नतिजाबाट उत्साहित हुने अवस्था छैन : स्वास्थ्य मन्त्रालय

Health Ministry

१६ भदौ, काठमाडौं । एन्टिबडी परीक्षणका लागि गरिएको ‘सेरोप्रिभिलेन्स’ सर्वेबाट आएको नतिजाका आधारमा उत्साहित हुने अवस्था भने नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृषणप्रसाद पौडेलले अहिले देखिएको कोभिड–१९ विरुद्धको एन्टिबडीको लेभल र कहिलेसम्म काम गर्छ भन्ने यकिन नभएकाले ढुक्क हुने अवस्था नरहेको बताए ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. रुणा झाले पनि सर्वेक्षणमा सहभागीहरूमा देखिएको एन्टिबडीको अवधि कहिलेसम्म हुन्छ भन्ने विषय अझै प्रष्ट नभइसकेकाले सर्वेक्षणको नतिजाकै आधारमा उत्साहित हुने अवस्था नरहेको बताइन् । कोभिड संक्रमणको जोखिमबाट बच्न जनस्वाथ्यका मापदण्ड अझैपनि कडा रूपले पालना गर्न डा. झाको सुझाव छ ।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र तथ्यांक विभागको सहकार्यमा गत असार २१ देखि साउन अन्तिमसम्म गरी १३ हजार ७ सय जनाको रगतको नमुना संकलन गरी एन्टिबडी परीक्षण गरेको थियो । सर्वेक्षणबाट आएका १३ हजाार १६१ जनाको नतिजा विश्लेषण गर्दा जम्मा ६८.६ प्रतिशत नागरिकमा एन्टिबडी विकास भएको पाइएको छ । जसमध्ये सबैभन्दा बढी प्रदेश २ मा ८४.७ र सबैभन्दा कम गण्डकी प्रदेशमा ६०.७ प्रतिशतमा एन्टिबडी विकास भएको पाइएको छ ।

जसमध्ये पुरुषहरूमा ६९.६ प्रतिशत र महिलामा ६७.४ प्रतिशत एन्टिबडी पाइएको मन्त्रालयले जनाएको छ । त्यस्तै, भौगोलिक अवस्थाका आधारमा तराईका नागरिकमा ७२.४, पहाडमा ६५ र हिमाली प्रदेशका नागरिकमा ६० प्रतिशतमा एन्टिबडी विकास भएको पाइएको छ । त्यसैगरी कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ । पहिलो डोज खोप लगाएकामा ८० प्रतिशत र कुनैपनि खोप नपाएका ६४.३ प्रतिशतमा एन्टिबडी विकास भएको पाइएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा स्थानीय तहमा भएका प्रयोगशालाकर्मीले टोलीको सदस्यको रूपमा रगत सङ्कलन गरी रगत सेरमबाट एन्टिबडी परीक्षण गरेको थियो । नमुनाको परीक्षण भने सबै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै भएको प्रयोगशाला निर्देशक डा. झा ले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस