१७ भदौ, काठमाडौं । कोसी र यसका सहायक नदीहरू तथा नारायणीका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, मर्स्याङ्दीलगायतमा आज पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
कन्काई, वाग्मती, पूर्वी राप्तीमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कमला, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य रहने जनाइएको छ ।
आज इलाम, झापा, सुनसरी, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, सप्तरी, दोलखा, नुवाकोट, धादिङ, सिन्धुली, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, नवलपुर, रुपन्देही, कपिलवस्तु, बझाङ, डोटी, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।