१७ भदौ, काठमाडौं । केही समययता काठमाडौं उपत्यकासहितका सहरहरूमा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षणसहित अस्पताल आउनेको संख्या बढेको विभिन्न अस्पतालको तथ्यांक छ ।
मौसम परिवर्तनको समय भएकाले भाइरल इन्फ्लुएन्जाका ‘केस’हरू बढेको बताइन्छ । देशका अधिकांश भागहरूमा अहिले भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
इन्फ्लुएन्जाका अधिकांश लक्षणहरू कोरोना संक्रमणसँग मिल्दोजुल्दो हुने भएकाले यी दुई संक्रमण छुट्ट्याउन परीक्षण नै गर्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देकशक डा. रुना झा बताउँछिन् ।
कसरी चिन्ने कोरोना संक्रमण र भाइरल रुघाखोकी ?
भाइरल रुघाखोकी ३० भन्दा बढी कारणले देखिन सक्ने विशेषज्ञहरू बताउँछन् । अहिले नेपालमा देखिइरहेको रुघाखोकी र ज्वरोको मुख्य कारण कोरोना संक्रमण नै भएको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् । कोरोनापछि इन्फ्लुएन्जा अहिले आम समस्याको रूपमा देखिएको उनको भनाइ छ ।
“सामान्यतया यस्ताखाले भाइरल रुघाखोकी, इन्फ्लुएन्जालगायतले गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या ननिम्त्याउने भएकाले नेपालमा यसलाई सामान्य रूपमा लिने गरिएको छ । यस्ताखाले समस्या आफैँ निको भएर जाने भएकाले परीक्षण पनि कम हुने गरेको छ । तर, कहिलेकाहीँ भाइरल रुघाखोकी भनेर परीक्षण नगराइ बस्दा दुई हप्तापछि पनि गम्भीर समस्या देखिन सक्छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणमा नेपालमा यस्तै अवस्था देखिएको थियो । त्यसैले ज्वरो आएको वा कोरोनासँग मिल्दोजुल्ल्दो लक्षण देखिएको तीन दिनसम्म पनि निको नभएमा कोरोना परीक्षण अवश्य गराउनुपर्छ । ताकि, एकैपटक गम्भीर समस्या नदेखियोस्,” डा. सुवेदी भन्छन् ।
अहिले देखिएको भाइरल रुघाखोकी र ज्वरो कोरोना संक्रमण हो वा होइन भनेर घरमै बसेर पत्ता लगाउन नसकिने उनलेले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर तीन दिनभन्दा बढी बिरामी भएमा पीसीआर परीक्षण गराउन डा. सुवेदीको सुझाव छ ।