समाचार

पाल्पामा अक्सिजन उत्पादन सुरु

oxygen cylinder

१८ भदौ, पाल्पा । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको रु एक करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ ।

तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको हो । जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका लागि घरमै लैजानसमेत अक्सिजन पर्याप्त भएको अध्यक्ष पाण्डेयले बताए ।

इञ्जीनियर देवेन्द्र श्रेष्ठले प्लान्टको क्षमता ४२० लिटर प्रतिमिनेट रहेको जानकारी दिए । अक्सिजन प्लान्ट बढी क्षमताको भए पनि यसमा प्रयोग भएको बुष्टरले प्रति २० मिनेटमा एक सिलिण्डर भर्न सक्ने श्रेष्ठले बताए । प्लान्ट ४० किलोवाट क्षमताको हो । बुष्टर ठूलो राख्दा प्रतिदिन १०० सिलिण्डरमा अक्सिजन उत्पादन हुने उनले जानकारी दिए ।

अस्पतालका मेसु डा जगदीश कुँवरका अनुसार अक्सिजनका लागि बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताए। उनले पहिला बुटबल, नारायणगढलगायत स्थानमा पुगी अक्सिजन ल्याउनुपर्ने बाध्यता रहेको जानकारी दिए । कोरोनाको दोस्रो लहर आउँदा अक्सिजनको अभावमा बिरामी र आफन्तले सास्ती खेपेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस