धर्म-संस्कृति / रितिथिति

भाद्रकृष्ण औँसी श्राद्ध आज, कुशे औँसी मंगलबार

gokarneshor temple

२१ भदौ, काठमाडौं । भाद्रकृष्ण औँसीमा दिवंगत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मंगलबार गर्नुपर्नेछ ।

अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आज बिहान सूर्योदय ५ः४५ बजे भएकोे छ । समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले आज बिहान ६ः५६ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी भएकाले अपराह्नकालमा औँसी तिथि परेको बताए ।

सूर्योदयमा औँसी भएका दिन स्नान, दान आदि कर्म गर्ने, हलो बार्ने, बाबुको मुख हेर्ने आदि पर्व मनाउनुपर्ने शास्त्रीय विधिका आधारमा यी कर्म भदौ २२ गते मंगलबार गर्नुपर्ने समितिले स्वीकृति दिएको पञ्चांग (पात्रो) मा उल्लेख छ । मंगलबार बिहान ६ः२५ सम्म औँसी तिथि छ । सूर्योदय बिहान ५ः४६ बजे हुन्छ ।

मघा नक्षत्र भएकाले आज श्राद्ध गर्न नहुने धर्मशास्त्रविद् गौतमले जानकारी दिए । मघा नक्षत्र भएका दिन श्राद्ध गरेमा जेठो छोरा नाश हुने शास्त्रीय वचन छ । सन्तान नहुनेले भने आज श्राद्ध गर्छन् । मघामा पिण्ड नदिई गरिने श्राद्ध भने आज गरिन्छ । तीर्थमा गरिने श्राद्ध मघा नक्षत्र परे पनि गर्नुहुन्छ भन्ने मान्यता राख्नेहरु आज बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पुगेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस