विश्व/प्रवास

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी

covid19 india

२१ भदौ, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।

यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३८ हजार ९४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती मध्ये केरला राज्यमा मात्रै २६ हजार ७०१ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३० लाख २७ हजार ६२१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुदै आएको छ । त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ ।

केही हप्तासम्म चार लाखभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेकोमा अहिले बढेर चार लाख चार हजार ८७४ पुगेको छ । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४० हजार ७५२ को मृत्यु भएको छ भने तीमध्ये २१९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । त्यसैगरी एक दिनमा ४३ हजार ९०३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस