
२५ भदौ, काठमाडौं । अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महाराजगंज घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका, ८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई पक्राउ गरिएको हो ।
करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिसहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।
बुढानिलकण्ठ गल्फूटार क्षेत्रमा केही व्यक्तिले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधिहरु भन्सार छली अवैध रुपमा कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा उक्त औषधि बिना लाइसेन्स विक्री गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रवलले भारतमा रहेका आफन्तमार्फत उक्त औषधिहरु मगाई लामो समयदेखि काठमाडौंका बिभिन्न औषधि पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।