
२५ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।
कूल बिनियोजन मध्ये संघले खर्च गर्ने चालुतर्फको ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात २३.१६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६० प्रतिशत विनियोजन गरेको छ ।
यस्तै प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए । वित्तीय हस्तान्तरणतर्फ विजनियोजित बजेटमध्ये चालु खर्चमा समानिकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड अर्थात ८४.११ प्रतिशत र पुँजीगततर्फ ६१ अर्ब ५५ करोड अर्थात १५.८९ प्रतिशत रहेको छ ।
विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोत मध्ये राजश्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र वैदेशिक अनुदानबाट ५९ अर्ब १२ करोड प्राप्त हुने अनुमान छ । चालु पुँजीगत र वित्तिय हस्तारन्तरणतर्फ विनियोजित खर्चमा राजश्व र वैदेशिक अनुदानबाट व्यहोर्दा ५ खर्ब २२ खर्ब ९ करोड न्यून हुने देखिन्छ । वित्तीय व्यवस्थातर्फको बिनियोजित रकमसमेत समावेश गर्दा कुल विनियोजनमा न्यून हुने रकम वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब र ९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब स्रोत सुनिश्चितता गर्ने अर्थमन्त्री शर्माले बताए ।