विश्व/प्रवास

काबुल ड्रोन आक्रमणमाथि अमेरिकी मिडियाको प्रश्न

us media

२७ भदौ, काठमाडौं । २० वर्षे अफगान युद्ध अन्त्य गरी फर्कने बेला अमेरिकाले काबुलमा गरेको अन्तिम ड्रोन आक्रमणको घटनामाथि अमेरिकी सञ्चारमाध्यमले प्रश्न उठाएका छन् ।

द न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टले आफूसँग भएको प्रमाणानुसार ड्रोन आक्रमणमा इस्लामिक स्टेटको एक कार्यकर्ता मारिएको खबर गलत भएको दाबी गरेका छन् । उनीहरूले सो आक्रमणमा एक सहायताकर्मी मारिएको जनाएका छन् । जबकि, सो आक्रमणमा एक आईएस कार्यकर्ता मारिएको अमेरिकी अधिकारीले बताएका थिए ।

अमेरिकी ड्रोन आक्रमणको लक्षित कारमा विस्फोटक पदार्थहरू थिए भन्ने अमेरिकी सेनाको रिपोर्टलाई आफ्ना प्रमाणहरूले कमजोर पार्ने ती सञ्चारमाध्यमले जनाएका छन् । पेन्टागनले अझै पनि सो हमलाले एउटा ‘आसन्न खतरा’बाट जोगाएकोमा विश्वस्त रहेको जनाएको छ ।

गुप्तचर एजेन्सीको सूचनाको आधारमा गएको अगस्ट २९ मा अमेरिकाले आईएसलाई लक्षित गरी ड्रोन आक्रमण गरेको जनाएको थियो । सो आक्रमणमा ६ बालबालिकासहित १० जनाको मृत्यु भएको थियो । त्यसको तीन दिनअघि आईएस–केले काबुल विमानस्थलबाहिर गरेको आत्मघाती आक्रमणमा १३ अमेरिकी सैनिकसहित १०० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो ।

न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टले भिडियो र फोटोग्राफिक प्रमाणहरू विश्लेषण, विज्ञहरू र प्रत्यक्षदर्शीसँग कुराकानी गरी प्राप्त प्रमाणका आधारमा सो गाडीमा विस्फोटक पदार्थहरू नभएको निष्कर्ष निकालेका छन् । मिडिया रिपोर्टहरूबारे प्रतिक्रिया दिँदै पेन्टागनले ‘आक्रमणको आकलन’ गरिरहेको जनाएको छ । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस