विश्व/प्रवास

उत्तर कोरियाद्वारा जापानसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण

missile

२८ भदौ, काठमाडौं । उत्तर कोरियाले जापानसम्म प्रहार गर्न सक्ने एउटा नयाँ प्रकारको लामो दूरीको क्रुज क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार शनिबार र आइतबार परीक्षण गरिएको क्षेप्यास्त्र १५ सय किलोमिटरसम्म पुग्न सक्छ । प्योङयाङ र टोक्योबीचको दूरी झण्डै १३ सय किलोमिटर छ ।

उत्तर कोरियाले लामो दूरीको क्रुज क्षेप्यास्त्रलाई देशको प्रतिरक्षा विज्ञान र हतियार प्रणाली विकासको पाँच वर्षे लक्ष्य भेट्नको लागि ‘ठूलो महत्त्वको रणनीतिक हतियार’ भनेको छ । अमेरिकाको इन्डो–प्यासेफिक कमाण्डले एउटा विज्ञप्तिमा क्षेप्यास्त्र परीक्षणले उत्तर कोरियाले आफ्नो सैन्य कार्यक्रमको विकासमा निरन्तर ध्यान केन्द्रित गरिरहेको र यसले छिमेकी र अन्तर्राष्ट्रिय समुदायमा खतरा पैदा गरेको बताएको छ।

उत्तर कोरियाका विश्लेषक अंकित पाण्डाले यो देशको लामो दूरीको पहिलो क्षेप्यास्त्र भएको र जसले सम्भवतः परमाणु हतियार लैजान सक्ने बताए । जापानका मुख्य क्याबिनेट सेक्रेटरीले यसलाई ‘जापानको महत्त्वपूर्ण चिन्ता’ भएको र यसको निगरानी र समाधानका लागि अमेरिका र दक्षिण कोरियाको साथ काम गरिरहेको बताएका छन् ।

ब्यालिस्टिक क्षेप्यास्त्र र आणविक कार्यक्रमका कारण उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रक्रियाको बारेमा अमेरिका, जापान र दक्षिण कोरियाका उच्च अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वसन्ध्यामा पछिल्लो परीक्षण गरिएको हो । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस