
२८ भदौ, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमाबार नेप्से ०.२७ प्रतिशतले वृद्धि भएर २९४७.७० अंकमा बन्द भएको छ । यस दिन ७६ कम्पनीको मूल्य मात्रै बढ्यो भने १०२ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
बजार पुँजीकरण उच्च भएका कम्पनीको मूल्यले नै समग्र बजारलाई बढी प्रभाव पार्दछ । समूहगत रुपमा हेर्दा बैंकिङ, जीवन बीमा, निर्जीवन बीमाजस्ता समूहहरु बजार पुँजीकरणका आधारमा शक्तिशाली छन् । ती समूह बढ्दा समग्र बजार बढ्न टेवा पुगेको हो ।
कारोबार रकम हिजोभन्दा सामान्य घटेको छ । हिजो ९ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ९ अर्ब २९ करोडमा सीमित भयो । बैंकिङ १६, विकास बैंक ४, फाइनान्स २, होटल तथा पर्यटन ४, जीवन बीमा ८५, निर्जीवन बीमा १९८ र ब्यापार समूह २९ अंकले बढेका छन् । अन्य ८, लघुवित्त ३१, उत्पादन ९३ र जलविद्युत समूह ९० अंकले घटेका छन् ।
तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो । मूल्यवृद्धिसँगै अजोडको प्रतिकित्ता ८५९, मनकामना स्मार्टको ६८७ र सानिमा लाइफको ६६१ रुपैयाँ कायम भएको छ । त्यस्तै कालिका पावर कम्पनीको मूल्य सबैभन्दा धेरै ६.४ प्रतिशतले घटेको छ ।
रैराङ हाइड्रोपावरको मूल्य ५.६ प्रतिशतले घट्यो भने ग्रीनलाइफ हाइड्रोको मूल्य ५.३ प्रतिशतले घट्यो । युनिभर्सल पावर र माउन्टेन हाइड्रोको मूल्य पनि ५ प्रतिशतले घटेको छ । कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो । सो कम्पनीको ६१ करोड रुपैयाँको सेयर किनबेच हुँदा दोस्रोमा रहेको युनाइटेड मोदीको ४७ करोडको कारोबार भयो ।
नेसनल हाइड्रोपावर, नबिल बैंक र अपि पावर पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।