३० भदौ, काठमाडौं । पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएको छ । यसरी डिजिटल कारोबार सेवा सञ्चालन गर्दा प्रदायक कम्पनीहरुले लिने शुल्कलाई व्यवस्थित गर्न राष्ट्र बैंकले नै सीमा तोकिदिएको छ ।
भुक्तानी प्रणालीसम्वन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले डिजिटल कारोबारमा सीमा तोकेको हो । वालेटमार्फत राजश्व भुक्तानी गर्दा सेवा प्रदायक कम्पनीहरुले रकमअनुसार न्यूनतम ५ रुपैयाँदेखि २० रुपैयाँसम्म शुल्क लिन पाउने छन् ।
३ हजार रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार ५ रुपैयाँ, ३ हजार १ देखि १० हजारसम्म १० रुपैयाँ तथा १० हजार १ भन्दा माथिको कारोबार गर्दा प्रतिकारोबार २० रुपैयाँ शुल्क लाग्छ । त्यस्तै एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन पाउने पुरानै व्यवस्था कायम गरिएको छ ।
पिओएस संचालन गर्ने डिपार्टमेन्टल स्टोर, मार्ट, होटल पसल लगायतले ग्राहकसँग कुनै पनि थप शुल्क लिन पाउँदैनन् । त्यस्तै मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गर्दा न्यूनतम १० रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क तोकिएको छ । ५० हजार रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार १० रुपैयाँ, ५० हजार १ देखि १ लाखसम्म २० र १ लाख १ भन्दा माथिको कारोबारमा ३० रुपैयाँसम्म शुल्क तोकिएको छ ।