
२ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो साता केन्द्रीय सरकार विस्तार हुने बताएका छन् । शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले असोज ४ गते मन्त्रिमण्डल विस्तार हुने बताएका हुन् ।
“विभिन्न कारणले सरकार विस्तार हुन सकेका छैन । केही प्राविधिक कठिनाइहरू देखिएको थियो । असोज ४ गतेसम्म सरकार विस्तार हुन्छ,” उनले भने । सत्तारूढ गठबन्धन गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको भन्दै तत्काल नटुट्ने उनले दाबी गरे ।
“गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएको थियो,” अध्यक्ष प्रचण्डले भने, “तर, अब तपाईंहरू ढुक्कसँग लेख्नुस्– गठबन्धन टुट्दैन । अगामी चुनावसँग यो गठबन्धन रहन्छ ।” दुईपटक संविधान संशोधनका लागि प्रस्ताव संसद्मा दर्ता भए पनि संशोधन हुन नसकेको भन्दै उनले दुःखसमेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस